काठमाडौँ । युवा सशक्तीकरण र शिक्षाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा यस वर्ष पनि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ।
कार्यक्रमअन्तर्गत देशभरका १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ।
छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा तथा अन्तर्वार्ताका आधारमा प्रदान गरिने जनाइएको छ। आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट क्षमता भएका विद्यार्थीलाई प्राथमिकतामा राखिने कार्यक्रमको उद्देश्य रहेको छ।
छात्रवृत्तिसँगै चयन भएका विद्यार्थीहरूले १२ महिनासम्म निःशुल्क लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि प्राप्त गर्नेछन्। यसले उनीहरूलाई अध्ययन तथा अवसरहरूसँग निरन्तर जोडिन सहयोग पुग्ने विश्वास गरिएको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का ले शिक्षा देशको भविष्य निर्माण गर्ने आधारभूत स्तम्भ भएको उल्लेख गर्दै भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाको भविष्य निर्धारण गर्न नहुने बताइन्। उनले प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत अवसरबाट वञ्चित तर क्षमतावान विद्यार्थीहरूसम्म पुग्ने प्रयास भइरहेको बताइन्।
हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। सन् २०१७ देखि सञ्चालनमा रहेको उक्त कार्यक्रमले देशभरका एसईई उत्तीर्ण विद्यार्थीलाई शैक्षिक अवसर उपलब्ध गराउँदै आएको छ।
गत वर्ष पनि एनसेल फाउन्डेसनले यसै कार्यक्रममार्फत ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। ती विद्यार्थीहरू हाल विभिन्न शैक्षिक संस्थामा कक्षा १२ मा अध्ययनरत रहेका छन्।