काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ) मा निर्माणाधीन केबलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथीभरा केबलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गरेका हुन् ।
केबलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा ठुलो अन्योल छाएको उनले उल्लेख गरे । सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबिच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गरे ।
उनले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबिच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गरे । उनले भने, ‘यो आयोजना बन्ने हो कि रोकिने हो ? सरकारको आधिकारिक धारणा के हो ? ताप्लेजुङका जनता स्पष्ट जानकारीको पर्खाइमा छन् । ताप्लेजुङबाट काठमाडौँ आउँदा उक्त सडक खण्डमा गाडी चल्न नसक्ने अवस्था थियो । अन्ततः डोजरले बाटो खोलेपछि मात्र यात्रा सम्भव भयो । तीन–तीन वर्ष म्याद थप्दा पनि ट्र्याक खुल्न नसक्नु कस्तो विडम्बना हो ?’
सांसद थेबेले ताप्लेजुङको लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति पनि कडा आपत्ति जनाएका छन् । विक्रम संवत् २०७७ सालमा ठेक्का लागेको र २०८० सालमा म्याद सकिएर पुनः थप गरिएको तीन वर्ष बितिसक्दा पनि सडकको ट्र्याक समेत खुल्न नसक्नु लज्जास्पद भएको उनको तर्क थियो ।
सांसद थेबेले लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त सडक खण्डको काम तत्काल अगाडि बढाउन र पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती पूर्ण रूपमा अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।