सिटिजन्स बैंकको अगुवाइमा मस्र्याङ्दी बेसी जलविद्युत आयोजनामा साढे ७ अर्ब कर्जा लगानी

0 Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ५० मेगावाट क्षमताको दिव्यज्योती जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी हुने भएको छ ।

आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सहवित्तीयकरण कर्जा सम्झौतामा बुधबार काठमाडौंस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा कम्पनी तथा लगानीकर्ता बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् ।

गण्डकी प्रदेशको लमजुङ जिल्लाको बेसीशहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा आयोजना निर्माण हुने कम्पनीले जनाएको छ ।

आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जसमध्ये ६७ः३३ को ऋण–स्वपुँजी अनुपातमा सहवित्तीयकरण बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३ अर्ब ८० करोड रुपैयाँ प्रवर्द्धक पक्षले स्वपुँजीमार्फत जुटाउनेछ ।

कम्पनीका अनुसार आयोजना आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइनेछ । आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणको उदीपुरस्थित १३२ केभी क्षमताको विद्युत केन्द्रमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । विद्युतगृहबाट उक्त केन्द्रको दूरी करिब ८ किलोमिटर रहने बताइएको छ ।

आयोजनाबाट हिउँदमा ११२ दशमलव ०९९ गिगावाट घण्टा र वर्षायाममा २०० दशमलव ५०३ गिगावाट घण्टा गरी वार्षिक कुल ३१२ दशमलव ६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच विद्युत खरिद–बिक्री सम्झौता २०७५ भदौ १० गते सम्पन्न भएको थियो । कम्पनीले २०७४ असोज १ गते ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको जनाएको छ ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान : गणेशराज पोखरेल

सम्झौता कार्यक्रममा बोल्दै गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापना कालदेखि नै जलविद्युत तथा हरित ऊर्जा क्षेत्रमा एकल लगानी, अगुवा लगानी तथा सहवित्तीयकरणमार्फत उल्लेख्य योगदान दिँदै आएको बताए ।

उनका अनुसार बैंकिङ क्षेत्र र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संयुक्त प्रयासबाट धेरै आयोजना निर्माण भई सञ्चालनमा आएकाले नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ ।

हालसम्म बैंकले २७४ दशमलव ४०१ मेगावाट क्षमताका १६ वटा सम्पन्न जलविद्युत आयोजना तथा १,३३० दशमलव ८२५ मेगावाट क्षमताका २६ वटा निर्माणाधीन आयोजना गरी कुल १,६०५ दशमलव २२६ मेगावाट क्षमताका ४२ वटा आयोजनामा लगानी गरेको जनाएको छ ।

सिटिजन्स बैंकले १८ वटा जलविद्युत आयोजनामा अगुवा बैंक, ३ वटा आयोजनामा सह–अगुवा बैंक, १७ वटा आयोजनामा सहभागी बैंक तथा ४ वटा आयोजनामा एकल लगानी गरेको जानकारी पनि दिएको छ ।

समयमै आयोजना सम्पन्न हुने विश्वास

दिव्यज्योती जलविद्युत कम्पनीका अध्यक्ष सतिस न्यौपानेले आगामी चार वर्षभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए ।

उनले नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायबाट आवश्यक सबै कानुनी प्रक्रिया पूरा भइसकेकाले आयोजना तत्काल निर्माण सुरु गरी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंकले हालै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे ऋण कार्ड” सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यस्तै “सिटिजन्स जेन–जी बचत खाता”, “सिटिजन्स डिजिटल बैंक सेवा” तथा स्वतन्त्र रूपमा काम गर्ने युवालाई लक्षित “फ्रिलान्सर बचत खाता” सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । मोबाइल बैंकिङ अनुप्रयोगमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउने व्यवस्था पनि बैंकले सुरु गरेको छ ।

हाल बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ नगद वितरण केन्द्र, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार