काठमाडौं । रामपुर साना सहरी खानेपानी उपभोक्ता संस्था को नवौं साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कमल राज भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओली प्रमुख अतिथि रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए । संस्थाका सचिव नीलकण्ठ पोखरेल ले कार्यक्रम सञ्चालन गरेको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष भोजराज भट्टराईले प्रस्तुत गरेको थियो। त्यसैगरी स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष विष्णुमाया ढकाल ले राखेको थियो।
प्रमुख अतिथि खेमराज ओलीले वर्तमान सरकारले आम नागरिकको मौलिक अधिकारका रूपमा रहेको खानेपानीजस्तो सेवामूलक संस्थामा आयकर मिनाहा, विद्युत महसुलमा छुट तथा ब्याजदर कम गरिनुपर्नेमा जोड दिए । उनले उपभोक्ता संस्थाहरूका लागि साधारण सभा आर्थिक पारदर्शिताको आधार भएको बताउँदै स्वच्छ खानेपानी उपलब्ध गराउनु र उपभोक्ताको हित संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।
विशिष्ट अतिथिले स्थानीय सरकार र उपभोक्ता संस्थाबीच समन्वय गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा सभाध्यक्ष कमल राज भट्टराईले संस्थाको हालसम्मको अवस्था र आगामी योजनाबारे जानकारी गराएको थियो।