काठमाडौं । एमजी ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी एमजी एस सिक्स ईभी नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सोमबार आयोजना गरेको कार्यक्रममा यो नयाँ मोडल सार्वजनिक गरिएको हो।
एमजी एस फाइभको उत्तराधिकारीका रूपमा आएको एमजी एस सिक्स ईभीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो मिड-साइज पारिवारिक एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धी मोडेल हुनेछ।
शक्तिशाली ब्याट्री र लामो रेन्ज
नयाँ एमजी एस सिक्स ईभीमा ७७ किलोवाट आवर क्षमताको अल्ट्रा–थिन ब्याट्री र १८० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। एकपटक फुल चार्ज गर्दा यो गाडीले करिब ५३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
त्यसैगरी १५० किलोवाटको अल्ट्रा–फास्ट चार्जर प्रयोग गर्दा ब्याट्री १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुग्न करिब ३८ मिनेट लाग्ने बताइएको छ। गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.१ सेकेन्डमै लिन सक्ने क्षमता राख्छ। यसको ग्राउन्ड क्लियरेन्स १९५ एमएम रहेको छ।
ड्राइभिङ मोड र सुविधा
यो एसयूभी अल-ह्विल ड्राइभ प्रणालीमा आधारित छ। यसमा नर्मल, स्पोर्ट, इको, स्नो र कस्टम गरी पाँचवटा ड्राइभ मोड उपलब्ध छन्।
इन्टेरियर सुविधामा १२.८ इन्चको एचडी टचस्क्रिन र १०.२५ इन्चको ड्राइभर डिस्प्ले दिइएको छ। साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि वायरलेस कनेक्टिभिटी उपलब्ध छ।
सुरक्षा सुविधामा ५-स्टार रेटिङ
सुरक्षाका दृष्टिले पनि यो गाडीलाई अत्याधुनिक मानिएको छ। एमजी एस सिक्स ईभीले ५-स्टार एनक्याप सेफ्टी रेटिङ प्राप्त गरेको छ।
यसमा ७ वटा एयरब्याग राखिएको छ। साथै एडभान्स ड्राइभिङ असिस्ट सिस्टम (ADAS) अन्तर्गत एमजी पाइलट कस्टम फिचर उपलब्ध छ, जसले ड्राइभिङका क्रममा सम्भावित जोखिम पहिचान गरी सहयोग गर्छ।
यस प्रणालीमा एक्टिभ इमरजेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल र ब्लाइन्ड स्पट डिटेक्सन जस्ता सुरक्षा फिचर समावेश छन्।
स्मार्ट ड्राइभिङ अनुभव
कम्पनीका अनुसार एमजी पाइलट कस्टमले ड्राइभरलाई व्यक्तिगत सेटिङ अनुकूलन गर्न सहयोग गर्छ र सुरक्षित तथा तनावमुक्त यात्रा सुनिश्चित गर्न मद्दत पुर्याउँछ।
नेपालको बढ्दो इलेक्ट्रिक सवारी बजारलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो मोडलले प्रिमियम ईभी सेग्मेन्टमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ।