दाङ । टरी गाउँ हरीपौरा खानेपानी उपभोक्ता समितिको तेस्रो साधारणसभा समितिका अध्यक्ष दिल्ली बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश जंग शाह तथा राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा बोल्दै मेयर टीकाराम खड्काले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले यसको व्यवस्थापन गर्नु सरकारको दायित्व रहेको बताए। उनले सबै नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउन स्थानीय सरकारले प्राथमिकता दिएको उल्लेख गरे।
खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश जंग शाहले सरकारको नीति तथा बजेट अभावका कारण केही आयोजना अलपत्र परेको बताए। उनले अधुरा योजनालाई सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन हुनुपर्नेमा जोड दिए।
त्यसैगरी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले उपभोक्ता संस्थामाथि सरकारले अन्यायपूर्ण रूपमा आयकर, विद्युत महसुल, ब्याजदर तथा जनसहभागितासम्बन्धी नीतिहरू लागू गरेको आरोप लगाए। उनले यस्ता नीतिका कारण उपभोक्ता संस्थालाई सञ्चालन गर्न कठिनाइ भइरहेको बताएका छन्।