हिमालयन लाइफको जीवन बीमाकोष ८६ अर्ब नाघ्यो, बीमाशुल्क आर्जन १२.९३ अर्ब

0 Shares

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा कोष ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको जीवन बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७१ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्ष यही अवधिमा बीमा कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ रहेको थियो । सार्वजनिक विवरणअनुसार कम्पनीले जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा बीमा व्यवसाय विस्तारमा सकारात्मक सुधार हासिल गरेको देखिएको छ।

यद्यपि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ । कम्पनीले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ४४.६५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १२ अर्ब ९३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवमा कम्पनीले आर्जन गरेको १२ अर्ब १८ करोडको तुलनामा ६.१८ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ९ करोड १३ लाख ,लगानी तथा कर्जा आम्दानी ३ अर्ब ७४ करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ५६ करोड ३१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी १ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १७ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । गत आवसम्म भने कम्पनीको कुल आम्दानी १८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीले १४ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.२० प्रतिशतले बढी हो ।

यो अवधिमा कम्पनीको कुल खर्च १.४१ प्रतिशतले घटेर १६ अर्ब ९० करोड रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४६ करोड ६६ लाख र रिटेन्ड अर्निङ ९९ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०९०.८२ रुपैयाँ, पीई रेसियो ९४.७१ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार