छिंचू उपत्यकामा खानेपानी संस्थाको १७औँ साधारण सभा उद्घाटन सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष धर्मराज खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओली उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशेष अतिथिका रूपमा भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले सुरक्षित र दिगो खानेपानी व्यवस्थापनको आवश्यकता औंल्याउँदै संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। प्रमुख अतिथि ओलीले साना सहरी क्षेत्रमा खानेपानी सेवा विस्तार र व्यवस्थापनमा सहकार्यको आवश्यकता रहेको बताउनुभयो। विशेष अतिथि ढकालले स्थानीय तह र संस्थाबीच समन्वय गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
अध्यक्ष खड्काले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गर्नुभयो। उहाँले उपभोक्तामैत्री सेवा, स्रोत संरक्षण र दीर्घकालीन योजना कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, उपभोक्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।