काठमाडौं महानगरको निर्देशनपछि धादिङका बसको काउण्टर सर्यो

0 Shares

काठमाडौं । काठमाडौं महानगरको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् ।

काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार व्यवसायीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी, वडा कार्यालय र बसपार्क सञ्चालन व्यवस्थापनमा काम गर्ने पक्षसँग चरणबद्ध छलफल गरेर बसपार्कबाट बस सञ्चालन गरिएको हो ।

व्यवसायीसँगको समझदारीमा सेवा स्थानान्तरण गर्न समय दिएर समस्या समाधान गरिएको उनले बताए । सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन भएपछि चक्रपथ करिडोरमा सवारी पार्किङ्कको समस्या न्यूनीकरण भएको छ ।

सडक किनारामा गाडी रोकेर यात्रु चढाउँदा र ओराल्दा हुने दुर्घटनाको जोखिमसमेत समाधान भएको छ । कार्यवाहक प्रमुख डङ्गोलले भने, “सहरी सुविधा वितरण तथा विकास व्यवस्थापनमा विवाद समाधान गर्न यो अनुकरणीय उदाहरण हो, यसमा सबै पक्षको जित भएको छ, निर्णय कार्यान्वयन गर्दा कसैलाई नोक्सान पुगेको छैन, यसरी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र थप सुधार गर्ने कामलाई प्राथमिकता दिइनेछ ।”

यसअघि २०८२ चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्क भित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । सोअनुसार नुवाकोटतर्फका यातायात सञ्चालन गर्ने कम्पनीहरु सम्पर्कमा आएको पनि धादिङतर्फ सञ्चालन हुने यातायात व्यवसायीहरु सम्पर्कमा नआएपछि पुनः तीन दिनको समय दिइएको थियो ।

प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा सात सय सार्वजनिक यातायातका साधन बाहिरिने गरेकामा करिब ३५० वटा सवारी साधन बसपार्क बाहिरै पार्किङ हुने गरेका थिए ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार हालै नुवाकोटतर्फ सञ्चालन हुने करिब ६५ वटा र धादिङतर्फ चल्ने करिब ९० वटा सवारी साधन बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।

बसपार्कमा लामो दूरीको एउटा सवारी साधन नौ घण्टा पार्किङ गरेमा ४५० शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दूरीका माइक्रो बसको २२० रुपैयाँ लिने गरिएको मल्लले बताए ।

बसपार्कबाट औसतमा दैनिक ३४० वटा गाडी आउने जाने गर्छन् । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ सात सय ५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।

सम्बन्धित समाचार