दाङको राप्ती प्रतिष्ठानको जग्गा अतिक्रमण

0 Shares

काठमाडौं । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन ।

जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न नसकेको जनाएको छ । अतिक्रमित जग्गा खाली गराउन आवश्यक समन्वय र सहजीकरणका लागि २०८२ चैत १८ गते गृह मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सहरी तथा सभा–समारोह व्यवस्थापन शाखाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचारसमेत गरेको थियो ।

उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीनहरूले भने पुनर्वासको व्यवस्था भए मात्र जग्गा खाली गर्ने अडान राखेका छन् । घोराही–१४ खोलीगाउँ निवासी भीमा कामीले आफ्नो जग्गा नभएकाले बाध्यतावश खोला किनारमा बस्नुपरेको बताउँदै स्थायी बसोबासको सुनिश्चितता भए अन्यत्र जान तयार रहेको बताइन् ।

स्थानीय मानबहादुर बुढाले पनि २०४० सालदेखि उक्त क्षेत्रमा बस्दै आएको उल्लेख गर्दै अहिले हटाउन खोज्दा कहाँ जाने भन्ने चिन्ता थपिएको बताए ।स्थानीयवासीहरूको साझा माग भनेको पुनस् विस्थापित नहुने गरी स्थायी व्यवस्थापन गरिनु पर्ने रहेको छ । अहिले जस्तो बारम्बार हटाइने अवस्था नहोस् भन्ने उनीहरूको चाहना छ ।

वडा सदस्य तथा ट्राफिकचोक खोलीगाउँ टोल विकास समितिकी अध्यक्ष रचना कुमालका अनुसार उक्त क्षेत्रमा हाल १५९ घरपरिवार बसोबास गर्दै आएका छन् । जसमध्ये पुलचोक खोलीगाउँमा ५४ र ट्राफिकचोक खोलीगाउँ टोलमा १०५ घरपरिवार रहेका छन् ।

सम्बन्धित समाचार