काठमाडौं । याम्बालिङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ ।
प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटड गरेपछि सर्वसाधारणलाई बिक्री खुलाएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७० करोडको ४० प्रतिशत अर्थात् २८ करोड बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भइसकेको छ ।
बाँकी आईपीओमध्ये १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहन गएको १७ लाख ४३ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरिएको हो ।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म माग गर्न सकिने छ । आवेदन दिने अन्तिम मिति वैशाख २२ सम्म रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो ।