कुमारी बैंकको खुद नाफामा उछाल, इम्पेयरमेन्ट चार्ज घट्दा नाफा वृद्धिमा रेकर्ड

0 Shares

काठमाडौं। कुमारी बैंकले चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अधिकांश वित्तीय सूचकमा उल्लेख्य प्रगति गरेको छ। बैंकले १३६१.७६ प्रतिशतसहित ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँबाट १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १० अर्ब ४९ करोड ५९ लाख रुपैयाँबाट २२.०८ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट ६९.६८ प्रतिशतले घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा झरेको छ। इम्पेयरमेन्ट चार्ज ठूलो मात्रामा घटेका कारण बैंकको नाफा बढ्न टेवा पुगेको हो।

खुद नाफा बढेसँगै बैंकको सञ्चालन मुनाफा पनि ८५ करोड ८३ लाख रुपैयाँबाट ६५७.८० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ।

गत चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ५० करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको चैत मसान्तसम्म घटेर १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मकमा झरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १.४५ रुपैयाँबाट बढेर २१.२४ रुपैयाँ पुगेको छ भने खराब कर्जा ६.९८ प्रतिशतबाट सामान्य घटेर ६.९४ प्रतिशत कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५८.५३ रुपैयाँ र बेस रेट ५.३५ प्रतिशत छ।

चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले चैतसम्म ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

सम्बन्धित समाचार