माछापुच्छ्रे बैंकको वितरण योग्य नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

0 Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी बढेको छ ।

चालू आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.९३ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा १६.६४ प्रतिशत बढेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १४ पैसा बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ ।

१५ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ । बैंकले चैत मसान्तसम्ममा २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सम्बन्धित समाचार