नर्भिक इन्टरनेशनल हस्पिटलको आईपीओ तयारी: बुक–बिल्डिङ ‘रोड शो’ सफल

0 Shares

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्कासन प्रक्रिया अन्तर्गत बुक–बिल्डिङ प्रणालीमा आधारित ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मिति २०८३ वैशाख ११ गते काठमाडौंको नक्सालमा आयोजित उक्त कार्यक्रममा निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल को आयोजनामा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कन सम्बन्धी आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा अजयकुमार मिश्रले अस्पतालको वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्यसम्पादन, रणनीतिक योजना तथा भविष्यका विस्तार योजनाबारे विस्तृत जानकारी दिएका थिए।

छलफलका क्रममा प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक तथा विश्वासयोग्य रहेको सहभागीहरूको धारणा थियो। यसले संस्थागत लगानीकर्ताहरूलाई अस्पतालको दीर्घकालीन विकास र सेवा विस्तारको सम्भावनाबारे स्पष्ट बुझाइ दिन सहयोग पुगेको बताइएको छ।

कार्यक्रममा बुक–बिल्डिङ संरचना, मूल्य निर्धारणका आधार, माग विश्लेषण तथा नियामक प्रावधानबारे पनि विस्तृत जानकारी दिइएको थियो। यस किसिमको प्रक्रिया नेपालमा पुँजी बजारलाई थप पारदर्शी र बजारमुखी बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

रोड शो सम्पन्न भइसकेपछि अब योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा प्रस्तावित मूल्यसहितको आशय पत्र तोकिएको समयभित्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थागत लगानीकर्ताप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित समाचार