निजी क्षेत्रको मनोबल फर्काउन सांसदहरुको सुझाव

0 Shares

काठमाडौं। सांसदहरुले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले निजी क्षेत्रको मनोवल अहिले खस्किएको भन्दै मनोवल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । साथै उनीहरुले आगामी बजेटलाई नजितामूखी बनाउन केन्द्रीत गर्नुपर्ने धारणा समेत राखेका छन् ।

बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको मनोबल उच्च बनाउन सके मात्रै आर्थिक क्षेत्र चलायमान हुने भएकाले यसमा ध्यान दिनुपर्ने र समितिका तर्फबाट पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

उनले मुलुकको कर प्रणाली सुधारका साथै अर्थतन्त्रको दायरा बढाउने बिषयमा पनि बिज्ञहरुसंग छलफल गर्नुपर्ने सुझाव दिइन् । बित्तिय सुशासन कायम गर्न निगरानीमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

त्यस्तै सांसद पुष्पराज कंडेलले अत्यावश्यक भन्दा पनि अन्य ठाँउमा स्रोत बिनियोजन गर्ने प्रवृतिलाई रोक्नुपर्ने बताए । साधन स्रोत बिनियोजनमा हुने दूरुपयोग रोक्नका लागि पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै अन्य समिति सदस्यहरुले बजेट विनियोजन पारदर्शी बनाउन समितिले पनि प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा समितिको कार्यक्षेत्रका साथै आगामी कामकारबाहीका बारेमा छलफल भएको थियो ।

सम्बन्धित समाचार