कीर्तिपुर क्रिकेट रंगशालासहित १८ वटा संस्थालाई जग्गा खाली गर्न त्रिविको पत्र

0 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफनो हाताभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ।

त्रिविले नेपाल क्रिकेट संघ (क्यान) लाई पत्र पठाएर ३५ दिनभित्र रंगशाला खाली गर्न भनेको हो। त्रिविले आफू मातहतका अतिक्रमित जग्गा फिर्ता ल्याउन गत वैशाख ४ गते ३५ दिनको सूचना निकालेको थियो। सोही अन्तर्गत १८ वटा संस्थालाई जग्गा फिर्ता गर्न पत्र काटेको छ।

त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईका अनुसार १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको छ। जसमा क्रिकेट रगंशाला पनि परेको उनले बताए।

‘त्रिवि(क्यान सम्झौता यही वैशाख अन्तिममा सकिँदै छ। त्रिविले क्यानसँग सम्झौता नगर्ने र जमिन फिर्ता गर्न पत्र काटेका छौँ,’ राईले भने, ‘जसले त्रिविको जग्गा प्रयोग गरेका छन् ती सबै निकायलाई छुट्टाछुट्टै पत्रचार गरी खाली गर्न भनेको हौँ, क्यानलाई पनि पत्र पठाएको छौँ।’

जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार मिचिएका जग्गा त्रिविअन्तर्गत ल्याउन १८ वटा संस्थालाई पत्र पठाएको उनले बताए। गत असोज २६ गते तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक गरेको ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ ले ठूलो मात्रामा त्रिविको जग्गा मिचिएको देखाएको थियो। प्रतिवेदनले त्रिवि पदाधिकारी र कर्मचारीको मिलेमतोमा दुई हजारभन्दा बढी रोपनी जग्गा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले हड्पेको खुलासा गरेको थियो।

 

सम्बन्धित समाचार