स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको अडान, अमेरिका र इजरायलमाथि युद्ध उक्साएको आरोप

0 Shares

एजेन्सी । इरान र अमेरिकाबिच जारी तनावले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज ठप्प हुने जोखिम बढेको छ। इरानका मुख्य वार्ताकार मोहम्मद बागेर घालिबाफले बुधबार सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै तत्काल स्ट्रेट अफ होर्मुज खुल्ने सम्भावनालाई नकारेका हुन्।

अमेरिका र इजरायलले युद्धविरामको ‘धज्जी उडाएको’ आरोप लगाउँदै उनले अहिलेको परिस्थितिमा मार्ग खोल्न सम्भव नभएको स्पष्ट पारेका छन्। घालिबाफका अनुसार अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा गरेको नाकाबन्दीले विश्व अर्थतन्त्रलाई नै बन्धक बनाएको छ भने इजरायलले सबै मोर्चामा युद्धको वातावरण सिर्जना गरिरहेको छ।

यस संवेदनशील मोडमा इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरान अझै पनि वार्ताका लागि तयार रहेको संकेत त दिएका छन्, तर उनले प्रतिबद्धताको उल्लङ्घन, नाकाबन्दी र धम्की नै वार्ताका मुख्य बाधक रहेको बताएका छन्।

यसै हप्ता पाकिस्तानमा हुने भनिएको नयाँ शान्ति वार्ताको टुङ्गो अझै लाग्न सकेको छैन। वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै अमेरिकामै रहेकाले वार्ताको भविष्य अन्योलमा परेको देखिन्छ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार समाप्त हुन लागेको अमेरिका–इरान युद्धविरामको अवधि बढाउने घोषणा गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पको यो निर्णयको कुनै समयसीमा नरहेको र यो ‘ओपन-इन्डेड’ भएको स्पष्ट पारेकी छिन्।

ट्रम्प इरान विरुद्धको नौसैनिक नाकाबन्दीबाट सन्तुष्ट रहेको र इरान अहिले निकै कमजोर अवस्थामा पुगेको ह्वाइट हाउसको बुझाइ छ। प्रेस सचिव लेभिटले अहिले सबै निर्णायक शक्ति ट्रम्पकै हातमा रहेको र अमेरिकी हित अनुकूल हुने देखिएपछि मात्र युद्ध अन्त्यको निर्णय लिइने दाबी गरेकी छिन्।

स्ट्रेट अफ होर्मुजमा जारी खिचातानीका बिच इरानले दुईवटा मालवाहक जहाज नियन्त्रणमा लिएको घोषणा गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ। बुधबार बिहान इरानले ‘अनुगमन’ का लागि भन्दै एमएससी फ्रान्सेस्का र एपामिनोन्डास नामक दुई जहाज कब्जामा लिएको हो। यी दुवै जहाजमा आक्रमणबाट क्षति पुगेको रिपोर्ट सार्वजनिक भएको छ।

अर्कोतर्फ, यूनाइटेड अरब इमिरेट्सको स्वामित्वमा रहेको ‘युफोरिया’ नामक कन्टेनर जहाजमाथि पनि आक्रमण भएको थियो, जुन अहिले सुरक्षित स्थानमा लंगर हालेर बसेको छ। भ्यानगार्ड नामक सामुद्रिक सुरक्षा फर्मका अनुसार युफोरियामाथि इरान नजिकै आक्रमण भए पनि त्यसमा मानवीय वा भौतिक क्षति भने भएको छैन।

सम्बन्धित समाचार