काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिलाई नै आधिकारिकता दिने निर्णय गरेपछि सभापति गगन थापाले अब पार्टीमा सबैलाई मिलाएर लैजान संवादलाई तीव्रता दिने बताएका छन्।
सर्वोच्चको आदेशपछि पार्टीको अबको बाटो के हुन्छ भनेर सोधेको प्रश्नमा संक्षिप्ति प्रतिक्रिया दिँदै सभापति थापाले उक्त कुरा बताएका हुन्।
‘म सबैसँग संवाद गर्छु,’ उनले भने, ‘यो सम्माननीय अदालतमा विचाराधीन रहेको एउटा विषय थियो। यो विषय टुंगिसकेपछि पार्टीको मूलधारमा मिसिएर जानुपर्छ भनेर कुरेर बसेका साथीहरू अब सँगसँगै आउनुहुन्छ भन्ने मलाई विश्वास छ।’
त्यही विश्वासका आधारमा सबैलाई मिलाएर लैजाने तत्काल प्रक्रिया सुरू गरिहाल्ने उनले बताए।
‘म अहिले पनि सबै साथीहरूलाई मिलाएर लैजान संवादमै छु, आगामी दिन त्यो संवादलाई अझ तीव्रता दिनेछु र त्यसका लागि तुरून्तै पहल गरिहाल्छु,’ उनले भने।