काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक सहसचिव कृष्णप्रसाद शर्मा नियुक्त भएको आठ वर्ष भयो । सामान्यतया कक्षा १२ को परीक्षा दिने दुई शैक्षिक सत्रसम्म परीक्षा नियन्त्रक भएपछि अर्को व्यक्तिलाई जिम्मेवारी दिने परम्परा छ । शर्मा २०७५ जेठदेखि निरन्तर परीक्षा नियन्त्रकको पदमा बस्दै आएका छन् ।
२०७६ सालमा शर्माको छोरी कक्षा १२ मा प्रसादी स्कुलबाट परीक्षा दिने भएपछि बुवा प्रश्नपत्र निर्माणलगायतका प्रक्रियामा संलग्न भएको भन्दै कर्मचारीले नैतिक प्रश्न उठाएपछि हटाएर कृष्णप्रसाद घिमिरेलाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको थियो ।
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शर्मालाई उक्त पदबाट सुरुवा गर्न माग समेत गरेको थियो । शक्ति र सत्ताको प्रयोग गरेर शर्मा महिना दिन नपुग्दै परीक्षा नियन्त्रक पदमा पुगेका थिए ।
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेबाट सुरु हुँदैछ । एसईईदेखि कक्षा १२ सम्म परीक्षा केन्द्रदेखि प्रश्नपत्र बाहिर ल्याउने गरेको चर्चा बारम्बार सुन्ने गरिन्छ । जसका कारण परीक्षा नियन्त्रक दुई शैक्षिक सत्रभन्दा बढी हुन नहुने परम्परा बसालिएको हो ।
तर, शर्मा एउटै पदमा आठ वर्षभन्दा बढी समय बसेपछि बोर्डभित्रकै कर्मचारीहरुले नैतिक प्रश्न उठाएका छन् । ‘एसईई र कक्षा १२ को परीक्षामा सबैभन्दा बढी निजी बोर्डङ स्कुलमा बेथिति छ । कर्मचारीसँग सेटिङ मिलाएर स्कुलले सेन्टर किन्नेदेखि लिएर प्रश्नपत्र आउट गर्छन्’ बोर्डका एक कर्मचारीले भने, ‘एउटै परीक्षा नियन्त्रक लामो समयसम्म बस्दा परीक्षामा आशंका गर्ने ठाउँ रहन्छ । उहाँ लामो समयसम्म नबसेको भए हुन्थ्यो ।’
एउटै व्यक्ति परीक्षा नियन्त्रक हुँदा परीक्षामा निजी स्कुलले सेटिङ मिलाएर धेरै विद्यार्थी पास गराई फाइदा लिने गरेको ती कर्मचारीको भनाइ छ । यता शर्मालाई खबर विन्दुकर्मीले पटक पटक सम्पर्क गर्न खोजे पनि सम्भव हुन सकेन ।
परीक्षा नियन्त्रक शर्मा नेकपा एमाले निकट भएकाले कर्मचारी र निजी स्कुल सञ्चालकसँग सेटिङ मिलाएर लामो समय परीक्षा निन्त्रक पदमा बसेको एक पूर्व कर्मचारीले आरोप लगाए । ‘कक्षा १२ को परीक्षा हुन दुई हप्ता मात्रै बाँकी छ । निजी स्कुलले परीक्षा सेन्टर सेटिङ मिलाउनेदेखि लिएर प्रश्नपत्रको भित्रभित्रै आउट गर्छन् । यसको प्रमाण फेला पार्न गाह्रो पनि छ । यो नदेखिने भ्रष्टाचार बेथिति हो’ ती कर्मचारीले भने, ‘निजी स्कुलका विद्यार्थी धेरै पास भएको देखाउन तलदेखि माथिसम्म सेटिङ मिलाउँछन् । बाहिर कसैलाई थाहा हुँदैन ।’
सेटिङ मिलाएकाले काठमाडौँ उपत्यकाका १२ कक्षाका विद्यार्थीका प्रश्नपत्र बाहिर नपठाउने गरिएको उनको भनाई छ । परीक्षा सेन्टर सेटिङ गराएर पास गराउने बेथिति मधेस प्रदेशदेखि लुम्बिनी र सुदुरपश्चिम जिल्लाका तराईमा जिल्लामा बढी हुने गरेको ती कर्मचारीले बताए ।