कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरतासम्बन्धी कथा संग्रह र भिडिओ निर्माण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै नयाँ वर्ष २०८३ सालको अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ ।
उक्त ‘वित्तीय साक्षरताकथा संग्रह’ बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना नभई व्यवहार परिवर्तन गर्ने प्रक्रिया भएको बताए । उनले कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्याउने विश्वास व्यक्त गरेको छ ।
यस कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग, तथा आर्थिक योजना जस्ता विषयलाई सरल, रोचक र सन्देशमूलक कथाका माध्यमबाट प्रस्तुत गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार, यो कथा संग्रह देशभरका विभिन्न विद्यालयमा वितरण गरिने छ । जसले विद्यार्थीमा प्रारम्भिक उमेरदेखि वित्तीय अनुशासन, बचत गर्ने बानी र जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुर्याउने छ ।
साथै, बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘अल्फा ग्रो सेभी, अकाउण्ट’ खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरूप खुत्रुकेसँगै उक्त कथा संग्रहसमेत प्रदान गर्ने व्यवस्था मिलाएको छ । जसले बचत व्यवस्थापनलाई व्यवहारिक रूपमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
यस अभियानको विशेष आकर्षणका रूपमा कथा संग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण गरिएको छ । यी भिडियोहरूमा कथाका पात्रहरूलाई दृश्यात्मक रूपमा जीवन्त बनाउँदै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ ।
बैंकका अनुसार, भिडियो सामग्रीले विशेष गरी बालबालिका, युवातथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आकर्षित गर्दै वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सजिलै बुझ्न सकिने माध्यममा रूपान्तरण गर्ने छ ।
कथा संग्रहसँग सम्बन्धित भिडियो सामग्रीहरू प्रत्येक हप्तामा दुई दिन बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने छ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमलाई आगामी दिनमा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।