८ महिनामा वाणिज्य बैंकले कमाए ४३ अर्ब बढी नाफा, सबैभन्दा अगाडी नबिल बैंक

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८२ फागुनसम्मको अवधिमा कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा ०.८९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुको खुद नाफा ४३ अर्ब ४९ करोड थियो।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ४ अर्ब ६२ करोड, तथा कुमारी बैंकले ३ अर्ब ६३ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ३० करोड ८२ लाख रहेको छ। त्यस्तै लक्ष्मी सनराइज बैंकले ६५ करोड ४ लाख खुद नाफा कमाउँदा सिटिजन्स बैंकले ८० करोड खुद नाफा कमाएको छ ।

आर्थिक वर्ष २०८१ फागुन र २०८२ फागुनको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा कुमारी बैंकको खुद नाफा सर्वाधिक २७४.६५ प्रतिशतले बढेको छ। त्यस्तै सिद्धार्थ बैंकको खुद नाफा ६८.३१ प्रतिशत तथा कृषि विकास बैंकको खुद नाफा ६५.५६ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८१ फागुन र २०८२ फागुनको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा ११ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये लक्ष्मी सनराइज बैंकको खुद नाफा ६७.३६ प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ६२.४० प्रतिशत घटेको छ। त्यस्तै नेपाल बैंकको खुद नाफा ६०.२८ प्रतिशत घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा ३१.०७ प्रतिशत घटेको छ।

सम्बन्धित समाचार