बादल कार्यवाहक अध्यक्ष र दलको नेता भएपछि एमालेमा चर्कियो विवाद

0 Shares

काठमाडौँ । नेकपा एमालेको कार्यवाहक अध्यक्ष एवम् संसदीय दलको नेता रामबहादुर थापा बादल चयन भएपछि विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेनजी आन्दोलनमा चर्को दमन गरेर हत्या गरेको अभियोगमा पक्राउ गरेपछि विवाद सतहमा आएको हो ।

एमाले संसदीय दलको नेता र कार्यवाहक अध्यक्षमा बादललाई बनाउन लागेपछि सांसद सुहाङ नेम्वाङ र राजेन्द्र राईले दलको नेतामा दाबी गरेका थिए । पार्टी महासचिव शंकर पोख्रेलले जबर्जस्त बादललाई दलको नेता बनाएपछि पार्टी कार्यालयमा कार्यकर्ताले पोख्रेलको पुत्लासमेत जलाएका थिए ।

पार्टीको दलको नेता र कार्यबाहक अध्यक्षमा विकल्प खोज्नु पर्ने भन्दै बिहीबार कार्यकर्ताले प्रर्दशन गरेका थिए । तत्कालीन माओवादी पृष्ठभूमिका बादल भएपछि उपाध्यक्ष विष्णु पौडेल पक्ष र योगेशकुमार भट्टराई पक्षले विरोध जनाएका छन् । ओलीकै कारण पार्टी कमजोर हुनका साथै बादललाई दलको नेता बनाएपछि उनी चौतर्फी दबाबमा परेका हुन ।

यसैबीच बिहीबार संसदमा बादलले गरेको सम्बोधनमा ओलीको दरो समर्थन जनाउँदै रक्षा गरेपछि उपाध्यक्ष पौडेलले आलोचना गरेका छन् । सामाजिक सन्जालमा बिहीबार लेख्दै पौडेलले प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेकपा एमालेको दल नेताको हैसियतले बादलले ब्यक्त गरेको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत भएको टिप्पणी गरे ।

यस सम्बन्धमा आज आयोजना गरिएको एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने पौडेलले चेतावनी दिए ।

यस्तै उपमहासचिव योगेश भट्टराईले जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुन: जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म भएको बताए ।

‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा बैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो । जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुन: जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ ।’

संसद वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ । एमाले निर्वाचनमा लज्जास्पद हार सहित तेस्रो पार्टी भएपछि ओलीमाथी उनी निकट नेताहरु समेत बिपक्षमा उभिएका छन् । पार्टीमा कमजोर धरातलका नेता बादललाई दलको नेता र कार्यवाहक अध्यक्ष बनाएपछि ओलीपक्षलाई समेत एक भएर विरोध गर्न सहज भएको छ ।

सम्बन्धित समाचार