काठमाडौं । एनआईसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका ४४ वटा शाखा कार्यालय समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ । बैंकले आगामी वैशाख ३ देखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाएको हो ।
बैंकका अनुसार सबैभन्दा धेरै शाखा काठमाडौं महानगरभित्र मर्ज हुने भएको छ । जहाँ २६ वटा शाखा एकीकृत गरिँदै छन् । त्यस्तै ललितपुर महानगर र पोखरा महानगरमा ६/६ वटा, विराटनगर महानगरमा ३ वटा, वीरगञ्ज महानगरमा २ वटा र भरतपुर महानगरमा १ वटा शाखा मर्ज हुने छन् ।
काठमाडौंमा नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजारका शाखा एकीकृत भएपछि कमलादी शाखाबाट सेवा दिइनेछ भने बोहोरा टार, माछापोखरी तथा ढुंगेधारा नर्सरी चोकका शाखा बालाजु शाखामा समायोजन गरिने छन् ।
त्यसैगरी न्यूरोड क्षेत्रका खिचापोखरी, भोटाहिटी र किलागल शाखा विशालबजार शाखामा गाभिने छन् । तिनचुली र चाबहिल शाखा बौद्ध शाखामा समाहित हुनेछन् भने नरेफाँट शाखा कोटेश्वरमा, बालुवाटार शाखा लाजिम्पाटमा र अनामनगर, शंखमुल तथा मध्य बानेश्वरका शाखा नयाँ बानेश्वर शाखामा गाभिने छन् ।
खसी बजार शाखा कलंकीमा, कपन शाखा सुकेधारा, गोंगबु शाखा सामाखुसीम सोह्रखुट्टे शाखा ठमेलमा र टेकु शाखा त्रिपुरेश्वर शाखामा समायोजन गरिने बैंकले जनाएको छ ।
साथै, सिनामंगल, मित्रपार्क र कालोपुलका शाखा बत्तीसपुतली शाखाबाट सञ्चालन हुने छन् । ललितपुरमा लगनखेल र मंगलबजार शाखा जावलाखेलमा गाभिँदा सानेपा र ग्वार्को शाखा सातदोबाटोमा समायोजन हुने छन् । खोकना शाखा भने भैंसेपाटी शाखामा मर्ज हुनेछ ।
पोखरामा पावरहाउस चोक र बुढीबजार शाखा लेखनाथ शाखामा, बाझापाटन शाखा अमरसिंह चोक शाखामा तथा महेन्द्रपुल र बगर शाखा न्यूरोड पोखरा शाखामा समाहित गरिने छन् । बिरौटा शाखा लेकसाइड शाखामा गाभिने छ ।
भरतपुरको बसेनी शाखा हाकिम चोक शाखामा समायोजन गरिने छ । विराटनगरमा मेनरोड र हाटखोल शाखा विराटनगर शाखामा गाभिँदा रानी मिल्स शाखा रोडशेष चोक शाखामा एकीकृत हुनेछ ।
त्यस्तै वीरगञ्जमा लिङ्ग रोड र पावरहाउस चोक शाखा आदर्शनगरस्थित वीरगञ्ज शाखामा समाहित भएर सेवा सञ्चालन हुने बैंकले जनाएको छ ।