नवनिर्वाचित २७४ सांसदको शपथ आज

0 Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ । आज अपराह्न २ बजे हुने शपथ ग्रहण कार्यक्रमको सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने तय भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल गर्ने तयारी भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने छन् ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

सङ्घीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन आग्रह गरेको छ ।

सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि आग्रह गरिसकेको छ । बहुउद्देश्यीय हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ ।

सम्बन्धित समाचार