काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाबलाई ६० रनले पराजित गरेको हो ।
बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाब १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो । यसअघि पहिला ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा सात विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।
बैंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ९२ रन बनाए । यो जितपछि बैंगलुरुको १३ खेलमा १० अंक भएको छ । अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।
त्यस्तै पञ्जाबको यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ । १२ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा नवौं स्थानमा झरेको छ ।
यसका साथै यस सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाव किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ ।
यसैबीच आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । अहमदावादमा हुने यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि शुरु हुने भएको हो ।
जारी आईपीएलमा गुजरातले ११ खेलमा चार जित र सात हारसहित अंक तालिकामा पुछारमा छ । चेन्नई ११ खेलमा ६ जित र पाँच हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।