काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की राजीनामा दिनुअघि विवादमा तानिएकी छन् । फागुन २१ गतेको निर्वाचन गराएर चौतर्फी तारिफ पाएकी कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकबाट भएका केही निर्णयका कारण विवादमा तानिएकी छन् । प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकी छन् । यस्तै प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा पाँच वर्ष मनोनीत गर्ने निर्णय गरेकी हुन् ।
राजनीतिक दलका नेताहरूले आफू निकटलाई संरक्षण गर्नुका साथै राज्यसत्ताकै दोहन गरेर नातावाद, कृपावाद र आपोपासेलाई पोसेको भन्दै गत भदौ २३ र २४ गते जेनजी आन्दोलनबाट ७६ जनाको ज्यान जानुका साथै ७० अर्ब भन्दा बढीको भौतिक क्षति भएको थियो । कार्कीले निर्वाचनमा एक थोपा रगत नबगाएर निर्वाचन गराएकोमा राजनीतिक दलसहित आमनागरिक प्रशंसा गरेका थिए ।
अब प्रधानमन्त्रीबाट बिदा हुन हप्ता दिन मात्रै बाँकी हुँदा गृहमन्त्रीलाई राष्ट्रिय सभामा मनोनीत गर्न र श्रेष्ठलाई कोषको अध्यक्ष बनाउने निर्णयले मिडियादेखि सामाजिक सञ्जालमा उनको विरोध भएको छ । प्रधानमन्त्रीले स्वार्थ बाझिने गरी काम नगरेको भन्दै इमानदारको तराजुमा जहाँ पनि जोखिन तयार गरेको बारम्बार अभिव्यक्ति दिँदै आएकी छन् । उनको पछिल्लो दुई निर्णयले भएको साख समेत खस्किएको छ ।
यस्तै बिच पूर्व शिक्षामन्त्री एवम् सांसद महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा मनोनीत भएका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई उक्त पद नलिन आग्रह गरेका छन्। पूर्व शिक्षा मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेर प्रधानमन्त्री कार्कीको निर्णय सय प्रतिशत नै गलत भएकाले मनोनीत भएका आदर्शलाई नै उक्त पद नलिन आग्रह गरेका हुन्। ‘‘आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलिऊ। त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देऊ,’ पुनले भनेका छन्।
उनले यस्तै किसिमका नातावाद, चाकरीवाद, कृपावाद, चाप्लुसीवादले पुराना दलहरू खतम भएको र यस्तै भए नयाँहरू पनि कालान्तरमा मासिने उनले बताएका छन्। अर्थ राजनीतिक विश्लेषक हरि रोकाले सित्तैमा भेटे अलकत्रा पिउने संस्कार अनुरूप आफ्नो हात जगन्नाथ भन्या जस्तै प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषमा नियुक्त गरेको बताएका छन् । गृहमन्त्री अर्याललाई समेत प्रधानमन्त्रीले राष्ट्रिय सभामा सिफारिस गरेर आफ्नो हात जगन्नाथ भन्या जस्तै पदको दुरुपयोग गरेको सामाजिक सञ्जाल मार्फत रोकाले टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीको दुई निर्णयका विषयमा जेनजी अभियन्तादेखि लिएर पुराना राजनीतिक दलका नेता कार्यकर्ताले समेत विरोध जनाएका छन् ।