काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी फागुन २१ गतेको निर्वाचनमा गए सर्वनाश रूपमा पराजय हुने बारम्बार अभिव्यक्ति दिने गर्थे । देउवा महाधिवेशन निर्वाचनपछि पार्टी टारेर नेतृत्व हस्तान्तरण गरेर आफू अनुकूल नेतालाई स्थापित गर्ने योजनामा थिए । तर, सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरूले बहुमतबाटै पार्टी महाधिवेशन गरेर नेतृत्व लिन सफल भए । त्यसमा निर्वाचन आयोगले थापा पक्षलाई वैधानिकता दिएपछि देउवा पक्ष किनारामा पुगेका हुन् ।
कांग्रेस सभापति थापाको नेतृत्वमा पार्टी निर्वाचनमा गए पहिलो शक्ति हुने नेताहरूले दाबी गर्दै आएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दोस्रो शक्तिको रूपमा उदाउन सक्ने भएकाले पहिलो शक्ति कांग्रेस हुने पार्टीकै नेताहरूले विश्लेषण गरेका थिए । निर्वाचनको मिति नजिकिँदै गएपछि तत्कालीन सभापति देउवा सहित पत्नी आरजु राणा लगायत अधिकांश नेताहरू चुनाव प्रचारप्रसारमा कतै देखिएनन् ।
आफू निकट नेतालाई जिताउन भन्दै कसैसँग भोट समेत मागेनन् । त्यसमा सभापति थापा लगायत अधिकांश नेताहरूले असन्तुष्टि जनाए । कतिपय कांग्रेसका नेताहरूले पुराना नेताहरूले भाट माग्दा मत घट्न सक्ने भएकाले नमागेकै राम्रो हुने सुझाव समेत दिए ।
किचलोकै बिच जब फागुन २१ गतेको निर्वाचन सम्पन्नपछि नतिजा त्यसको ठिक विपरीत आएपछि सबै विश्लेषण फेल भए । रास्वपा प्रत्यक्षमा १२५ सिट समानुपातिक ५७ सिट सहित दुई तिहाइ एक्लै ल्याएको छ भने कांग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा २० सहित कुल ३८ सिट ल्याएर दोस्रो दल हुन पुग्यो । त्यो पनि सरकार बनाउन र ढलाउन नसक्ने गरी कांग्रेस किनारा पुग्यो । पार्टी सभापति थापा सहित अधिकांश पदाधिकारी दोस्रो, तेस्रो कतिपय चौथोमा समेत पुगेर पराजित भएका छन् । जसका कारण पार्टीबाट संसदीय दलको नेता कसलाई बनाउने समस्या परेको छ ।
नेकपा एमाले प्रत्यक्षमा ९ सिट समानुपातिकमा १६ सिट र नेकपा प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट ल्याएपछि पुराना स्थापित दलका नेता कार्यकर्ता सबै चकित परेका छन् ।
कांग्रेसका सभापति युवा नेता थापा हुँदा समेत जनमत सोचे जति हुन नसकेपछि नेता कार्यकर्ता चिन्तित छन् । थापाले पार्टी पराजयको नैतिक जिम्मेवारी लिएर सभापतिबाट राजीनामा दिने आफू निकट नेताहरूलाई बताउने गरेका छन् । त्यस लगत्तै पार्टी उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरूले राजीनामा दिएर समस्या समाधान हुने भन्दै बचाउ गरेका छन् । पार्टीलाई बलियो बनाएर अघि बढ्न थापालाई ढाडस दिएका छन् ।
तर, देउवा निकट नेताहरूले सभापति थापाले राजीनामा दिएर पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन् । पहिलो पटक सभापति भएका थापा निर्वाचनमा पराजय हुनुका साथै अधिकांश शीर्ष नेताहरू पराजित भएपछि इतिहासकै रक्षात्मक अवस्थामा पुगेका छन् ।
सभापति थापाले राजीनामा दिएर नैतिक जिम्मेवारी लिन्छन् वा पार्टीलाई नयाँ तरिकाले हाँक्छन् भन्ने यसै भन्न सक्ने अवस्था देखिँदैन ।