काठमाडौं । २०७९ सालको वैशाख ३० गते भएको ७५३ स्थानीय तह निर्वाचनमा अनौठो परिणाम आयो । स्थापित दलहरुलाई स्वतन्त्रहरूले निर्वाचन जितेर चुनौती दिए । काठमाडौँ महानगरबाट बालेन्द्र शाह, धरान उपमहानगरबाट हर्क साम्पाङ, धनगढी उपमहानगरबाट गोपी हमालले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेर देखाए । तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलहरूले गठबन्धन गर्दा समेत साह, साम्पाङ र हमालले सानदारका साथ निर्वाचन जितेर देखाए ।
स्थानीय निर्वाचनमा पूर्वदेखि पश्चिमसम्म र काठमाडौँ महानगरसम्म स्वतन्त्रले निर्वाचन जितेपछि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्रको सुन्दर फूल भएको टिप्पणी गरे । आफूहरूले लडेर ल्याएको गणतन्त्रमा स्थानीय निर्वाचनमा सुन्दर फूल फुलेको भन्दै मन गाँठो पारेर शुभकामना दिए ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन तिनै फूलमध्ये बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दुई तिहाइ मत पाएर प्रधानमन्त्रीको बागडोर सम्हाल्ने तयारीमा छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहित स्थापित पार्टीलाई तह लगाएर बालेन प्रधानमन्त्रीको कुर्सीमा पुग्दै छन् । धनगढीका मेयर हमाल यस निर्वाचनमा होमिएनन् ।
तर, हर्क साम्पाङ आफैँले श्रम संस्कृति पार्टी गठन गरेर चुनाव चिन्ह माटो लिएर पूर्वको बलियो क्षेत्रीय पार्टी स्थापना गरेका छन् । हर्क नेतृत्वको पार्टीले प्रत्यक्षमा तीन र समानुपातिकमा चार सिट पाएको छ । प्रत्यक्षमा सुनसरी १ बाट हर्क साम्पाङ, भोजपुरबाट धुर्वराज राई, खोटाङबाट आरेन राई निर्वाचित भएका छन् । अरू आधा दर्जन भन्दा बढी उम्मेदवार स्थापित दलसँग झिनो मतले पराजित भएका छन् ।
हर्क मेयरदेखि सांसदसम्म
हर्क साम्पाङ धरानको मेयरमा निर्वाचन जित्छन् भन्ने कसैले पत्याएको थिए । तत्कालीन कांग्रेस र माओवादी गठबन्धनलाई हराएर हर्क मेयरमा निर्वाचित भए । स्वतन्त्रबाट हर्कले निर्वाचन जितेपछि दलहरूले आफूहरू सच्चिने बचन समेत दिएका थिए ।
तर, दलहरू आफैँमा रूपान्तरण नभएपछि नयाँ दलहरूले स्थापित दलहरूलाई तह लगाएका छन् । जसका कारण रास्वपा प्रत्यक्ष १२५ सिट समानुपातिकमा ५७ सिट जितेर पहिलो दल, कांग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट पाएर दोस्रो दल, एमाले प्रत्यक्षमा ९ समानुपातिकमा १६ सिट जितेर तेस्रो दलमा खुम्चिएको छ ।
नेकपा प्रत्यक्षमा ८ सिट र समानुपातिकमा ९ सिट जितेर चौथो, हर्क नेतृत्वको पार्टी प्रत्यक्ष तीन र समानुपातिकमा चार सिट गरेर पाँचौँ दल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रत्यक्षमा एक सिट समानुपातिकमा पाँच सिट जितेर छैनौ दल हुन पुगेको छ । मेयरबाट राजनीतिक यात्राअघि बढाएका हर्क संसदमा पुग्ने अवसर पाएका छन् । उनी मात्रै होइन अरू तीन जना सांसद प्रतिनिधि सभामा पुगेका छन् ।
यस निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा एमालेलगायत पुराना कम्युनिष्ट पार्टी निर्वाचन जित्न नसकेपछि शून्य भएका छन् । यस्तै आफूलाई सधैँ भोट बैंक सम्झने तराईका सबै मधेस केन्द्रित दल पराजित भएका छन् । जनता समाजवादी पार्टी, आमजनता पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सबै दल बढारिएका छन् । ती दलले प्रत्यक्ष र समानुपातिक दुवैमा नतिजा ल्याउन नसकेपछि शून्य हुन पुगेका हुन् ।
अब क्षेत्रीय दलको रुपमा पूर्वमा हर्क नेतृत्वको संसदमा निर्णायक हुने देखिएको छ । यस पार्टीले आगामी स्थानीय र प्रदेश निर्वाचनमा समेत बलियो उपस्थित देखाउन सक्ने विश्लेषण हुन थालेको छ । जसका कारण स्थापित कांग्रेस, एमाले र नेकपाले आफूलाई चुनौतीको रुपमा लिएका छन् ।