काठमाडौं । डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तारा प्रसाद जोशी कांग्रेसका नैनसिंह महरलाई ७ हजार १० मतान्तरले उछिन्दै निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका जोशीले १९ हजार १३१ मत पाउँदा कांग्रेसका महरले १२ हजार १२१ मत मात्रै प्राप्त गर्न सके।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले ६ हजार ८३४ र नेकपा एमालेका चक्र प्रसाद स्नेहीले २ हजार ९२६ मत प्राप्त गरेका छन्।
योसँगै रास्वपाका जोशीले ३४ वर्षदेखि डडेल्धुरामा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले कायम गरेको वर्चश्व तोडेका छन्। यस क्षेत्रबाट देउवा २०४८ सालदेखि निर्वाचन जित्दै आएका थिए । यस क्षेत्रबाटै निर्वाचित भएर पाँच पटक प्रधानमन्त्री समेत हुने अवसर पाएका थिए ।
०४८ यताका चुनाव जित्दै आएका देउवा कांग्रेस सभापतिबाट विस्थापित भएपछि यसपटक डडेल्धुरामा उम्मेदवार बनेनन्। उनको स्थानमा कांग्रेसले युवा नेता नैनसिंह महरले चुनावमा उठाएको थियो।