३४ वर्षपछि भत्कियो शेरबहादुरको किल्ला, रास्वपाका जोशी विजयी

0 Shares

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. ताराप्रसाद जोशी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा। जोशी सात हजार १० मत अन्तरले विजयी भएका छन् । उनले १९ हजार १३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले ६ हजार ८३४ र नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरे ।

जोशीको राजनीतिक यात्रा

जोशी यहाँ कांग्रेसको ३४ वर्षे विरासत भत्काउँदै पहिलो पटक सांसद निर्वाचित भएका हुन् । जोशीको जन्म विसं २०२७ चैत ३० गते भएको हो । उनी गन्यापधुरा गाउँपालिका २ का स्थायी बासिन्दा हुन् ।

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय उनी लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आएका थिए । उनको राजनीतिक यात्रा विसं २०४५ मा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रुपमा सुरु भएको थियो ।

विसं २०४८ मा शिक्षण पेसामा रहँदा उनी शिक्षक सङ्गठनमा आबद्ध भए । विसं २०५१ मा नेकपा एमाले डडेल्धुरा-काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय भएका जोशी विसं २०५३ मा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य र विसं २०५४ मा जिल्ला कमिटी सचिव बने ।

विसं २०५५ तिर राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा सक्रिय बनेका उनी कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकसमेत भए । उनी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत बनेका थिए ।

राजनीतिक गतिविधिसँगै उनले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । विशेषगरी २०६२/६३ को जनआन्दोलनमा उनको सक्रिय सहभागिता रहेको बताइन्छ ।

राजनीतिमा भने उनले उतार चढाव भोगे । विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा उनी नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग पराजित भएका थिए भने २०७४ को प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार बेहोरे ।

विसं २०७९ मा मा भने जोशी स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भए । २०७८ सालतिर एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र रुपमा राजनीतिकमा सक्रिय भएका थिए ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए ।

सम्बन्धित समाचार