ट्रम्पको निर्देशनमा तेहरानमा आक्रमण, कहाँ छन् इरानी राष्ट्रपति?

0 Shares

काठमाडौं। इरानविरुद्ध अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गरेसँगै आक्रमण भएको हो ।

राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुँवा उठेको देखिएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसन’ सुरु गरेको बताए । उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरे ।

यसैबीच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा थिए वा थिएनन् भन्ने स्पष्ट भएको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रुपमा देखिएका थिएनन् ।

आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचना लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् ।

तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडक बन्द गरिएका छन् । राजधानीभर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन ।

इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ । छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ ।

इजरायलभर साइरन बजाइएको छ । सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । इजरायलका अस्पतालले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् । इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ ।

इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट गरेको छैन । तर, क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारी सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएका छन् । यद्यपि, विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन । घटना क्रमले मध्यपूर्वमा थप सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।

सम्बन्धित समाचार