पाकिस्तानले गर्‍यो अफगानी तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा

0 Shares

काठमाडौं । पाकिस्तानले अफगानी तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा गरेका छन्।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गरी इस्लामावादको धैर्यता समाप्त भएको भन्दै अफगानी तालिबान विरूद्ध खुला युद्ध घोषणा गरेका हुन्।

बिहीबार राति अफगानिस्तानले पाकिस्तानको सीमा क्षेत्रका ६ भन्दा बढी ठाउँमा हमला गरेको थियो। यसलाई तालिबान सरकारले गत आइतबार पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा गरेको हमलाको जबाफ भनेको छ।

गएराति अफगानिस्तानको हमलामा ५५ पाकिस्तानी सेना मारिएको र केही सैनिकलाई नियन्त्रणमा लिएको पनि तालिबानका सहायक प्रवक्ता हमदुल्लाह फिरातले बताएका छन्।

पाकिस्तानले शुक्रबार बिहानै अफगानिस्तानको काबुल, पक्तिका र कान्दाहारका विभिन्न क्षेत्रमा हवाई हमला गरेको पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाकिस्तानका सूचना मन्त्री अत्तउल्लाह तरारल ती क्षेत्रमा तालिबानका रक्षा ठेगानाहरूलाई लक्ष्य गरेर कारबाही गरिएको बताएका छन्।

आक्रमणबाट तालिबानका दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको उनको दाबी छ।

पाकिस्तानले आफ्ना सैन्य अपरेशनमा १३३ तालिबान सदस्य मारिएको र २०० घाइते भएको दाबी गरेको छ। यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ।

 

सम्बन्धित समाचार