नेशनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

0 Shares

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशका सीईओ क्लब सदस्यहरूलाई सम्मान गरेको छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको अध्यक्षतामा काठमाडौँस्थित वेब हस्पिटालिटीमा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुसार बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य ठहरिएका ५०० भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा कार्यालय प्रमुखहरूको उपस्थितिमा सीईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा सीईओ क्लब सदस्यहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो। साथै नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादासहित सम्मान गरिएको थियो।

प्रदेशस्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब योजनाअन्तर्गत देशभरबाट १,६०० भन्दा बढी अभिकर्ता छनोट हुनु योजनाको ठूलो सफलता भएको बताए। यस्ता कार्यक्रमले अभिकर्तालाई सकारात्मक प्रेरणा दिने भएकाले मासिक र वार्षिक लक्ष्य योजनालाई निरन्तरता दिइने उनले स्पष्ट पारे।

बीमा अभिकर्ता पेसा केवल व्यवसाय मात्र नभई सेवाभावसँग जोडिएको पवित्र पेसा भएको उल्लेख गर्दै उनले इमान्दारिता, निरन्तरता र कडा मेहनत नै सफलताको मुख्य आधार भएको बताए।

कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले मोटिभेशनल तालिम प्रदान गरेका थिए।

बागमती प्रदेशका उत्कृष्ट अभिकर्तामध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाकी रविना के.सी. ले आफ्नो व्यावसायिक अनुभव साझा गरेका थिए। सम्मानित अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउनुले पेसाप्रति थप ऊर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान प्राप्त गर्नु गौरवको विषय भएको प्रतिक्रिया दिएका थिए।

सम्बन्धित समाचार