काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा मिसिएको छ । दुई पार्टी एकीकरणसँगै नयाँ बन्ने पार्टी रास्वपा नै हुनेछ भने चुनाव चिह्न घण्टी रहने छ ।
यसअघि पार्टी एकताका लागि पटक पटक छलफल भए पनि टुंगो लाग्न सकेको थिए । उनेपाका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा रहने भए चुनाव चिह्न बलिरहेको बत्ती राख्नुपर्ने बताउँदै आए पनि अन्ततः रास्वपामा गाभिएको हो ।
सोमबार साँझ भएको निर्णायक वार्तामा उनेपाले आफ्नो अडान त्यागेको थियो । अब एकीकृत पार्टीको चुनाव चिह्न घण्टी हुने सहमति भएको हो ।
एकीकृत पार्टीको झण्डा पनि साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घण्टीको आकृति रहने छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
यस्तै, रास्वपामा तीन उपसभापति हुने भएको छ । जसमा कुलमान तीन उपसभापतिमध्ये पहिलो वरियतामा हुने छन् ।
सात बुँदे सहमतिको चौथो नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।’