बालेनले काठमाडौं १ वा २ बाट चुनाव लड्ने चर्चा, कसरी गर्दै छन् तयारी?

0 Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ वा २ बाट चुनाव लड्ने तयारी गरेका छन् । आफ्नै पार्टी बनाउन गृहकार्य थालेका उनले आगामी निर्वाचनमा काठमाडौंबाटै चुनाव लड्ने काठमाडौं महानगर उच्च स्रोतले जनाएको छ ।

यसबाहेक बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने समाचार बाहिर ल्याएका थिए । एमालेको गढ मानिएको झापामा बालेनले चुनाव जित्ने अवस्था नदेखेपछि काठमाडौंबाटै चुनाव लड्ने तयारी गरेका हुन् । काठमाडौंको मत संगठितभन्दा चर्चामा बढी प्रभावित हुने भएकाले बालेन झापा नजाने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं ३१ नम्बर वडाध्यक्ष सरोज ढकालले बालेन काठमाडौं क्षेत्र नम्बर १ वा २ बाट चुनाव लड्ने चर्चा रहेको जानकारी दिए । ‘मेयर सावको घर काठमाडौं क्षेत्र नम्बर २ मा पर्छ, उहाँको काठमाडौं क्षेत्र नम्बर १ मा पनि चर्चा छ, केपी कमरेडसँग झापामा चुनाव लड्ने समाचार पनि बाहिर आएको थियो,’ उनले भने, ‘मेयर साब काठमाडौं क्षेत्र नम्बर १ वा २ बाट चुनाव लड्नु हुन्छ कि जस्तो लाग्छ ।’

वडाध्यक्ष ढकालले आफूलाई आधिकारिक जानकारी नभए पनि काठमाडौंमै चुनाव लड्ने गरी बालेनले तयारी रहेको चर्चाबारे टिप्पणी गरे ।

आफ्नै पार्टी बनाउन तयारीमा बालेन

गत सोमबार राति रास्वपाका सभापति लामिछानेसँग एकता गरेर जानेबारे छलफल भए पनि बालेनले आफ्नै पार्टी बनाउने तयारी गरेका छन् । उनीहरूको छलफल टुंगोमा नपुगेपछि बालेनले आफ्नै पार्टी बनाएर चुनाव जाने तयारी गरेका हुन् ।

यसका लागि उनले ललितपुर कुपन्डोलस्थित कुमार बेन (व्यञ्जनकार)को घरमा विभिन्न व्यक्तिहरूसँग छलफल गरेका थिए । उनको सचिवालयका अनुसार छलफलमा बालेनले प्रत्यक्ष चुनाव लड्न सक्ने सम्भावित व्यक्तिसँग भेट गरेका हुन् ।

छलफलमा सहभागी एक सदस्यका अनुसार पार्टीको नाम र चुनाव चिन्हबारे लगभग तय छ । मेयर बालेनले सहरी योजना आयोगमा सहायक विज्ञ बनाएका सन्तोष गिरीसहितको टिमले दस्ताबेज बनाइसकेका थिए ।

भेटका लागि बालेन आफ्ना साथी तथा महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साललाई सक्रिय ढङ्गले परिचालित गरेका थिए । उनले प्रत्यक्ष चुनाव लड्दा सार्वजनिक रूपमा छवि राम्रा भएका मान्छेहरू चाहिने बताउँदै छलफलमा जुटेका हुन् ।

सम्बन्धित समाचार