काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेसनमा पूर्वमाओवादी गुटबाट उपाध्यक्षमा रामबहादुर थापा, उपमहासचिवमा लेखराज भट्टले उम्मेदवारी दिएका छन् । थापा र भट्ट दुबै जनाले अध्यक्षका प्रत्यासित केपी शर्मा ओली गुटबाटै उम्मेदवारी दिएका हुन् ।
एमालेको १० औँ महाधिवेसनमा माओवादी गुटबाट चिट बाँडेरै सबै पदाधिकारीलाई जिताएको थियो । जसमा उपाध्यक्षमा थापा, उपमहासचिवमा टोपबहादुर रायमाझी, सचिवमा भट्ट र प्रभु साहले जितेका थिए । यसपटक रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेलमै छन् । साह आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन् ।
यस पटकको एमाले ११ औँ महाधिवेसनमा चर्को प्रतिस्पर्धा देखिएकाले माओवादी गुट रक्षात्मक देखिएको महाधिवेसन एक प्रतिनिधिले बताए । ओली गुट र अध्यक्षका अर्का प्रत्यासित ईश्वर पोखरेल गुटको चर्को प्रतिस्पर्धा हुँदा माओवादी गुटका थापा र भट्टलाई चुनाव जित्न कठिन हुने नेताहरुले बताएका छन् ।
यस्तै माओवादी गुटबाट केन्द्रीय सदस्यमा १४ जनाले उम्मेदवारी दिएका छन् । त्यसमा अधिकांश ओली गुटबाटै उम्मेदवारी दिए पनि सबैलाई चुनाव जित्न कठिन हुने बताएको छ ।