काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेसनमा पूर्वाधार विद् डा.भेषराज थापाले केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । पार्टीका विभिन्न तहमा बसेर जिम्मेवारी पुरा गरेका डा.थापाले पार्टीको ११ औँ महाधिवेसनमा पहिलो पटक खुला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अहिलेको राजनीतिमा विभिन्न पेसा व्यवसाय विषय विज्ञको उपस्थित कम रहेकाले आफ्नो उम्मेवारीले सहयोग पुग्ने डा.थापाले बताए । ‘मैले पूर्वाधारको क्षेत्रमा २० वर्षदेखि काम गर्दै आएको छु । देशमा अझै पूर्वाधारण निर्माण गर्नुपर्ने भएकाले पार्टीको जिम्मेवारीमा भएपछि त्यसलाई सहजीकरण गर्दै दीर्घकालीन योजना बनाउन सहज हुने थियो’ उनले भने, ‘मैले विद्यार्थी राजनीतिमा समेत लामो समय काम गरेको अनुभव समेत रहेको छ । आफ्नो क्षेत्रको विज्ञता सहित पार्टी पोजिसनमा भएमा थप जनताको पक्षमा काम गर्न सहज हुने थियो भन्ने लाग्छ ।’
अहिलेको राजनीतिमा युवालाई समेत स्वरोजगार मुलुक बनाउनुपर्ने आवश्यकता देखिएको त्यसमा आफ्नो उम्मेदवारी भएको थापाको भनाई छ ।
एमालेमाथि प्रहार नियोजित नै हो
आगामी फागुन २१ गतेको निर्वाचनमा एमाले तयार भएपनि नियोजित प्रहार भएको भन्दै पार्टी नेता कार्यकर्ताले जमेर प्रतिवाद गर्ने तयारी गरेका छन् । एमालेको ११ औँ महाधिवेसनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका डा.थापाले एमालेलाई आगामी निर्वाचनमा कमजोर बनाउन अध्यारो कोठाबाट षड्यन्त्रको तानाबुना बुन्ने खेल भई जिकिर गरे । ‘एमाले नेतृत्वमाथि प्रहार भएको यो पहिलो घटना होइन । तपाईले इतिहासतिर फर्केर हेर्नुभयो भने एमाले विरुद्ध ठुलाठुला षड्यन्त्र र आक्रमण भएका छन् । यसले हत्यासम्मको परिणाम दिएको छ’ उनले भने, ‘चाहेय दासढुंगाको काण्डको कुरा गर्नुस् वा अन्य भौतिक रुपमै सक्ने गरी भएका हमलाको कुरा गर्नुस् । अहिलेको आक्रमण त्यो भन्दा अझ फरक हो आज ति शक्तिहरु एमालेलाई वैचारिक, राजनीतिक रुपमा समाप्त गर्न चाहन्छन् । एमाले पार्टीलई नै सक्ने गरी कल्पना गरेका छन्। एमालेका लाखौ नेता कार्यकर्ताले यो आक्रमणलाई पार्टी विरुद्धको लडाई मात्रै भनेर बुझेका छैनन् । हामी लडाईलाई देशको स्वाधीनता र राष्ट्रिय मुक्तिको आन्दोलनको रुपमा लड्न चाहन्छौ । त्यसका लागि जित्नु बाहेक अर्को विकल्प छैन ।’
महाधिवेसनबाट निर्वाचित हुने नयाँ नेतृत्वले पार्टी विरुद्ध भएको हमलालाई चीरेर बलियो शक्तिको रुपमा उभ्याउने डा.थापाको भनाई छ ।