मन्त्रिपरिषद्का मुख्य निर्णय : वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत, नर्वेबाट १० करोड अनुदान लिने

0 Shares

काठमाडौँ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वच्छ ऊर्जा कार्यक्रमका लागि उक्त अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको हो।

बैठकले नेपाल इन्जिनियरिङ सेवा गठन, समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८३ पनि स्वीकृत गरेको छ। त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले दिएको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ।

यसैगरी, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का यी पाँच मुख्य निर्णय सार्वजनिक गरेका हुन्।

नेपाल सरकार, मन्त्रिपरिषद्‌को २०८३ असोज १९ गतेको बैठकका मुख्य निर्णयहरूः

१ नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने।
२ नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने।
३ वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने।
४ जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने।
५ सहसचिव (प्रा.) श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।

सम्बन्धित समाचार