काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको पक्षमा अठार पदाधिकारीमध्ये छ जना मात्रै खुलेका छन् । एमालेका १८ पदाधिकारीमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा १२ पदाधिकारी खुलेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र सचिवद्यमा योगेशकुमार भट्टराई गोकर्ण भट्ट छन् । एमालेका एक सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निलम्बनमा छन् ।
मंसिर २७ गतेबाट सुरु हुने एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यालनसहित प्रतिस्पर्धाको तयारी गरिरहेका छन् । यही तयारी अनुसार हाल एमालेमा रहेका १८ पदाधिकारीमध्ये ओली पक्षमा १२ जना र पोखरेल पक्षमा ६ जना खुलेका हुन् ।
महाधिवेशनमा उम्मेदवारी दिँदा दुवै पक्षले आ आफ्नो तर्फको प्यानल बनाएरै दिने भित्री होमवर्क गरिरहेको एमाले नेताहरु बताउँछन् । तर उनीहरु एकअर्का समूहमा रहेकाहरुको नाम हेरर मात्र अन्तिम समयमा मात्रै प्यानल सार्वजनिक गर्ने रणनीतिमा देखिन्छन् । अहिले नै प्यानल सार्वजनिक गर्दा विपक्षीले रणनीति बदल्ने भएकाले अध्यक्ष बाहेकको प्यानल अन्तिम समयमा घोषणा गर्न लागिएको दुवै समूहका नेताहरु बताउँछन् ।
महाधिवेशन मिति नजिकिँदै गर्दा तीन उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र गुरुप्रसाद बराल ओलीको पक्षमा खुलेका हुन् । त्यस्तै महासचिव शंकर पोखरेल सहित तीनैजना उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ पनि ओली पक्षमै खुलेका छन् । ६ सचिवहरुमध्ये चार जना लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल पनि ओली पक्षमा खुलेका छन् ।
ओलीको पक्षमा खुलेका नेताहरु अहिलेको विषम परिस्थितिमा ओलीको विकल्प खोज्न नहुने बताउँदै ओलीलाई सहयोग गर्ने सार्वजनिक रुपमै घोषणा गरिरहेका छन् । उनीहरु दैनिकजसो एमाले निकट प्रेस चौतारीको कार्यालय पुगेर ओलीको पक्षमा रहेको भन्दै कित्ताकाट गरिरहेका छन् । अहिलेसम्म रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल लगायत नेताहरुले प्रेस चौतारीमार्फत कित्ताकाट गरिसकेका छन् । त्यस्तै प्रदीप ज्ञवाली, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा लगायतले पनि विभिन्न फोरमहरुमार्फत ओलीलाई साथ दिने घोषणा गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेललाई तीनजना उपाध्यक्षहरु ज्ञवाली, र सुरेन्द्र पाण्डेले साथ दिने भएका छन् । त्यस्तै सचिवद्वय विष्ट र भट्टराई पनि पोखरेललाई साथ दिँदै सोही समूहबाट महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा एमालेको महाधिवेशन उद्घाटन गरेर २८ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र हुनेछ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ र समर्थन रहने बताइएको छ । यद्यपि भण्डारी एमालेको सदस्य समेत नभएकाले उनी पक्षधरले पोखरेलको समूहलाई मत दिएर समर्थन गर्ने तयारी गरेका छन् ।
ओलीले तेस्रो कार्यकाल अध्यक्ष बन्ने चाहना राखेसँगै पोखरेलले ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।
ओलीसँग पोखरेल कमजोर
एमाले ११ औ महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष अध्यक्षमा निर्वाचित हुन कठिन देखिएको छ । पार्टी पदाधिकारी सहित स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय समितिमा अध्यक्ष ओली भन्दा पोखरेल कमजोर देखिएका छन् ।
महाधिवेसनमा सहभागी हुने २२ सय प्रतिनिधिमा समेत ओलीले पेलेरै आफू निकट व्यक्तिलाई प्रतिनिधि छानेर ल्याएका छन् । जेनजी आन्दोलनमा भागेर सेनाको क्याम्पमा गएर ज्यान जोगाएका ओली पार्टीमा पेलेरै तेस्रो पटक अध्यक्षमा आउने सम्भावना देखिएको छ ।
ओली र पोखरेल दुबैले प्यानलै बनाएर प्रतिशपर्धा गरे पनि बहुमत पदाधिकारी सहित केन्द्रीय समिति ओली निकट प्यानल आउने देखिएको छ ।