काठमाडौं । दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो टोलीलाई मजबुत बनाउन नेपाल आइपुगेका छन् ।
उनको आगमनले लिगमा इतिहासकै सबैभन्दा ठूलो उत्साह पैदा गरेको छ । नेपाली दर्शकले लामो अन्तर्राष्ट्रिय अनुभव, नेतृत्वदायी क्षमता र उत्कृष्ट क्रिकेट कौशल भएका फाफको खेल घरेलु मैदानमै प्रत्यक्ष हेर्ने मौका पाउने छन् ।फाफ जस्तो विश्वस्तरीय खेलाडीको उपस्थिति हेर्न फ्यान र खेलाडी दुवै उत्साहित छन् ।
दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका पूर्वकप्तान फाफ मैदानमा शान्त, धैर्यवान र योजनाबद्ध नेतृत्वका लागि विश्वभर सम्मानित छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा टेस्ट क्रिकेटमा ४० को औसतले चार हजारभन्दा बढी रन र वान डे क्रिकेटमा ४७ को औसतले पाँच हजार ५०० भन्दा बढी रन बनाएका छन् ।
दबाबका क्षणमा पनि बुद्धिमानीपूर्ण रणनीतिका साथ उत्कृष्ट प्रदर्शन गर्ने क्षमताले गर्दा उनी दक्षिण अफ्रिकाका भरपर्दो टप अर्डर ब्याट्सम्यानमध्ये एक मानिन्छन् ।
फ्रेन्चाइज क्रिकेटमा पनि फाफको उपस्थिति सधैं प्रभावशाली रहँदै आएको छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सको तर्फबाट खेल्दै दुई पटक उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
१५० भन्दा बढी आईपीएल खेलमा उच्च स्ट्राइक रेट कायम राखेका फाफले उच्च दबाब युक्त खेलमा पनि शान्त र समय मिलाएर खेल्ने क्षमता राख्छन् । यही अनुभव र कौशलले एनपीएलमा उनको योगदान महत्त्वपूर्ण रहने छ ।
नेपाली दर्शकले फाफको चिनारी बनेको पावर–हिटिङ, उत्कृष्ट टाइमिङ र रणनीतिक सोचले भरिएका रोमाञ्चक क्षणहरू हेर्न सक्ने छन् ।
फाफ एनपीएलमा सहभागी भएसँगै प्रतियोगिता नयाँ उचाईमा पुग्ने निश्चित छ । उनको उपस्थितिले खेलको स्तर वृद्धि गर्नुका साथै युवा नेपाली खेलाडीका लागि ठूलो प्रेरणा बन्ने छ । यसले लिगको रौनक बढाउने मात्र होइन, नेपाली क्रिकेटको विकास र क्षमताप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान पनि आकर्षित गर्ने छ ।
एनपीएलको दोस्रो सिजन फाफको आगमनसँगै अझ रोमाञ्चक, प्रतिस्पर्धात्मक र अविस्मरणीय बन्ने अपेक्षा गरिएको छ ।
विराटनगर किंग्स
विराटनगर किंग्स एनपीएलमा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो ।स्थानीय प्रतिभालाई उजागर गर्ने, खेल भावना बढाउने तथा फ्यान एवं समुदायसँग गहिरो रुपमा जोडिनु यस फ्रेन्चाइजको मुख्य उद्देश्य हो ।
विराटनगर किंग्स कोशी प्रदेशलाई गौरवान्वित बनाउने लक्ष्यका साथ निरन्तर क्रिकेट विकासमा समर्पित छ ।