‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ काठमाडौंमा आयोजना हुँदै

0 Shares

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी २०८३ माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल (Resilient Energy, Prosperous Nepal)’ भन्ने नारासहित आयोजना हुने एक्स्पो यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा आयोजना भएका संस्करणको निरन्तरता स्वरूप पाँचौँ संस्करण हो।

![हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ सम्बन्धी प्रचार सामग्री](फोटो: आयोजक)

नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको अवस्थामा सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको छ। उक्त लक्ष्य हासिल गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधार, घरेलु विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक रहेको आयोजकले जनाएको छ।

एक्स्पोमा जलविद्युत्मा मात्र सीमित नभई सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधि लगायतका विषय समेटिनेछन्।

आयोजकका अनुसार ऊर्जा क्षेत्रमा तीव्र विस्तार भइरहे पनि पछिल्ला वर्षमा बाढी, पहिरो तथा गेग्रान बहावका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुग्ने क्रम बढेको छ। त्यसैले जलवायु परिवर्तनका प्रभाव सामना गर्न सक्ने सुरक्षित, दिगो तथा विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माणलाई पनि एक्स्पोले प्राथमिकतामा राख्नेछ।

एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानका अवसर सिर्जना गरिने आयोजकले जनाएको छ।

त्यस्तै, बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, हाइड्रो–कन शो, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनर लगायतका कार्यक्रम एक्स्पोका प्रमुख आकर्षण रहनेछन्।

एक्स्पोमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ।

भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी गरिएको छ।

आयोजकका अनुसार एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् भने तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

इप्पानका अनुसार एक्स्पोलाई ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्म ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने निजी क्षेत्रकेन्द्रित वार्षिक कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

आयोजकले एक्स्पोमार्फत नेपालको ३० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य हासिल गर्न आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तार गर्नुका साथै जलवायुजन्य जोखिम सामना गर्न सक्ने सुरक्षित, दिगो र उत्थानशील ऊर्जा क्षेत्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार