कुमारी बैंकको अगुवाइमा नार खोला ६१ मेगावाट जलविद्युत परियोजनाको वित्तीय व्यवस्था सुनिश्चित

0 Shares

काठमाडौँ । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मेगावाट क्षमताको नार खोला जलविद्युत आयोजना अब वित्तीय रूपमा पूर्ण रूपमा सुनिश्चित भएको छ । सोमबार कुमारी बैंकको नेतृत्वमा पाँच बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमति गर्दै औपचारिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा सम्झौतामा हस्ताक्षर गरे । मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेका नार खोला तथा सोती खोलाको प्रवाहलाई एकीकृत गर्दै ६१.११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिनेछ ।

आयोजनामा कुमारी बैंकसँगै नेपाल एसबिआइ बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्नेछन् । नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै पावर पर्चेज एग्रिमेन्ट (पीपीए) पूरा भइसकेकाले परियोजनाको निर्माण प्रक्रिया अघि बढ्न सहज भएको बताइएको छ ।

आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र बर्सेनि ३६६.४८ गिगावाट–घण्टा विद्युत उत्पादन गर्ने क्षमता रहनेछ । तीनवटा २०.३७ मेगावाट क्षमताका टर्बाइन स्थापना गरिने यस आयोजनाले वार्षिक झन्डै २ अर्ब १० करोड रुपैयाँ बराबरको विद्युत विक्री गर्ने लक्ष्य राखेको छ । हेडरेस टनेल करिब ८ किलोमिटर लामो हुनेछ भने बाँध संरचना नार्पा भूमि गाउँपालिकामा र विद्युतीय गृह नासो गाउँपालिकामा निर्माण गरिनेछ । उत्पादित विद्युत मनाङको धारापानीमा निर्माणाधीन सबस्टेशनमा जोडिनेछ ।

कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ अनुमान गरिएको आयोजनामा ९ अर्ब ६३ करोड रुपैयाँ ऋण तथा ३ अर्ब २१ करोड रुपैयाँ स्वपूँजी लगानी हुनेछ । स्वपूँजीमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडको मुख्य हिस्सेदारी रहने कम्पनीले जनाएको छ । पहुँचमार्ग निर्माण सुरु भइसकेको र तीन महिनाभित्र मुख्य संरचना निर्माण सुरु गरी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित समाचार