कुलमान-बालेन एकै ठाउँमा, आगामी चुनाव कस्तो होला?

0 Shares

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच आइतबार राति भेट गरे ।

ऊर्जा मन्त्री कुलमानले आइतबार राति सामाजिक सञ्जालमार्फत दुई जनाको फोटो राखेर ‘देश बनाउने अभियानमा हामी सँगै छौँ’ भनेर पोस्ट गरेका थिए । कुलमानले फेसबुकमा फोटो राखेर छोटो क्याप्सन राखेसँगै जेनजी युवाहरु उत्साहित हुँदै शुभकामना दिए ।

यी दुई प्रभावशाली भेट भएसँगै ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत पार्टीका नेता कार्यकर्ताको मनमा चिसो पस्यो ।जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिसँगै मन्त्री बनेका कुलमानले उज्यालो नेपाल पार्टी दर्ता गरेका छन् । उनको संरक्षण भएको दलले चिम चुनाव चिन्हलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।

पार्टीको प्रत्यक्ष पदमा नदेखिए पनि कुलमानकै आग्रहमा उक्त पार्टी दर्ता भएको हो । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बसेर चुनाव लड्न गरी तयारी गरेका कुलमानले निरन्तर छलफल चलाएका थिए ।

अन्तिम अवस्थामा रास्वपाका उपसभापतिद्वय डीपी आर्याल र स्वर्णिम वाग्ले कुलमानलाई पार्टीमा भित्र्याउन चाहेनन् । यसका साथै कुलमानको नेतृत्व हुने गरी स्वीकार गर्न असहमति जनाए ।

रास्वपामा जाने अवस्था नभएपछि कुलमानले आफ्नो संरक्षणमा उज्यालो नेपाल पार्टी दर्ता गराएका हुन् । आफ्नै पार्टी बनाएका कुलमानले नयाँ पार्टीहरू खगेन्द्र सुनारको हाम्रो नेपाली र ऋषि धमलाकी पत्नी एलिजा गौतमको जनादेश पार्टीसँग मिलेर सहकार्य गर्ने नीति लिएका थिए ।

यसैबीच कुलमानले खगेन्द्र र एलिजासहित एजेन्डा मिल्ने पार्टीसँग एउटै चुनाव चिन्ह लिएर लड्ने तयारी गरेका थिए । अन्तमा उनीहरूबीच सहमति नभएपछि कुलमान बालेनसँग सहकार्य गर्न पुगेको उनी निकट एक नेताले जानकारी दिए । यसअघि बालेनले कुलमानलाई पार्टी नेतृत्व बनाएर रास्वपाको पुनर्संरचना गरी नयाँ शक्ति बनाउन चाहेका थिए ।

रास्वपामा प्रवेश गर्न नपाएका कुलमानले पछिल्लो समय बालेनसहित जेनजी युवाहरुलाई समेटेर अघि बढ्ने ती नेताले बताए । बालेनसँग सहकार्य गरी आगामी फागुन २१ गते हुने निर्वाचनमा गए कुलमान नेतृत्वको पार्टी नयाँ शक्ति बन्ने देखिन्छ । जसले अघिल्लो निर्वाचनमा रास्वपाले पाएको मतमा भारी कटौती हुने आंकलन गरिएको छ ।

रास्वपा सभापति रवि लामिछाने आधा दर्जन सहकारीको बचत हिनामिना प्रकरणमा नख्खु कारागारमा छन् । उनी जेल परेसँगै पार्टीभित्र ठूलो आन्तरिक विद्रोह हुँदै आएका छ । जसका कारण मन्त्रीसमेत बनेकी सुमना श्रेष्ठ, सन्तोष परियारसहित नेता कार्यकर्ताले रास्वपा छाड्ने लहर चलेको छ ।

रविले स्थापना गरेको रास्वपा उनकै कारणले खस्किँदै जाँदा कुलमानले संरक्षण गरेको पार्टी स्थापित हुने अवसर आएको छ । जसका कारण पुराना दलहरू कांग्रेस, एमाले र नेकपासमेत चुनावमा आफ्नो अस्तित्व रक्षा गर्न सकसमा पुगेका छन् । यसअघि कुलमानलाई फागुन २१ गतेको चुनावमा बालेनले कति साथ दिन्छन् भन्ने विषयले नतिजामा ठूलो प्रभाव पार्ने छ ।

सम्बन्धित समाचार