काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि जिल्लाबाट छनोट हुने प्रतिनिधिमा तिबृ प्रतिस्पर्धा देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षलाई निषेधै गरेर ओली पक्षलाई एकलौटी प्रतिनिधि बनाएको हो ।
एमालेको मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने महाधिवेशनका लागि गत मंगलबारबाट सुरु भएको प्रतिनिधि छनोट आइतबार करिब २२ सय छनोट गरेर सकिने भएको छ । पार्टी अध्यक्ष ओली तेस्रो पटक अध्यक्ष हुने भएपछि प्रतिनिधि छनोटदेखि नै आफ्नो पक्ष हो कि होइन हेरेर मात्रै छनोट गरिएको छ । पोखरेल पक्षको खुलेको देखिएमा प्रतिनिधि छनोटमै हराएको छ । जसका कारण पार्टीकै सिनियर नेतालाई प्रतिनिधि छनोटमै हराउँदा पार्टीको छवि समेत धुमलिएको छ । पार्टीको विवाद छताछुल्ल हुँदा नेपाली कम्युनिस्ट पार्टीलाई फाइदा पुगेको छ ।
ओलीलाई अध्यक्षमा ल्याउन उनी निकट नेताहरू सामाजिक सञ्जालदेखि फिल्डमा उनी निकट नेताहरु खटिएका छन् । प्रतिनिधि छनोटमै ओलीले बहुमत पु¥याएर अध्यक्षमै सजिलै आउने कोसिस जारी राखेका छन् । पार्टीको प्रतिनिधि बहुमत भन्दा बढी ल्याएर ओली लोकप्रिय छन् भन्ने देखाएर आगामी निर्वाचन जित्न सकिने उनी निकट नेताहरूको बुझाई छ ।
उता वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहित बहुमत पदाधिकारी ओली हराउन जोडतोडका साथ लागेका छन् । ओली नै अध्यक्षमा तेस्रो पटक आएमा आगामी फागुन २१ गतेको निर्वाचन जित्न कठिन हुने नेताहरूको आकलन छ । यसका लागि ओलीलाई महाधिवेशनमै हराएमा पोखरेलको फेस लिएर निर्वाचनमा गए बचेको साखबाट एमालेको आफ्नो स्ट्रेन्थ कायम गर्न सकिने बुझाई छ ।
ओली अध्यक्षमै तेस्रो पटक निर्वाचन भएर आएपछि भावी अध्यक्षको रूपमा शंकर पोखरेलाई अघि सार्ने ओलीपक्ष नेताहरू बताउँछन् । आफू अध्यक्ष भएर आएपछि सबै काम कारबाही शंकरलाई दिन सक्ने दाबी गरेका छन् । पार्टी महासचिवमा विष्णु पौडेल वा प्रदीपकुमार ज्ञवाली आउन आउन सक्ने अनुमान गरिएको छ । ओली गुटबाट खुलेका सबै नेतालाई व्यवस्थापन गर्दा सबैभन्दा नजिक रहेका पौडेल वा ज्ञवालीमध्ये एक जना महासचिव हुन सक्ने धेरैको बुझाई छ ।
पोखरेल पक्षबाट महासचिवमा योगेश कुमार भट्टराई वा गोकर्ण विष्टमध्ये एक जना प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । प्रतिनिधि छनोटमा ओलीले सबै एकलौटी बनाएकाले अध्यक्ष सहित अधिकांश पदाधिकारीमा ओली गुट आउन सक्ने धेरैको आकलन छ ।
यसरी आउँछन् प्रतिनिधि
सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरू सहित करिब २ हजार प्रतिनिधि छनौट हुँदै छन् । यस्तै प्रवास, जनसङ्गठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । एमालेको ११औँ महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।
जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ । विभाग र कार्यालयबाट एक एक जनाको प्रतिनिधित्व रहनेछ । प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ । केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् ।
त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन् । एमालेको कुल सङ्गठित सदस्य सङ्ख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९ प्रतिनिधि रहने छन् । यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि रहनेछन् ।
पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । यी सबै जोड्दा कुल २२ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ ।