काठमाडौं । हङकङको आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । अरू ७६ जना घाइते भएका छन् । अझै पनि करिब ३०० जना बेपत्ता रहेको पनि खबर आएको छ ।
बुधबार ताई पो जिल्लाका अपार्टमेन्ट ब्लक्सका आठ भवनमध्ये सातमा आगो फैलिएको थियो । हङकङका नेताले आगो अब नियन्त्रणमा आएको बताएका छन् । सुरक्षा कमजोरीहरूप्रति जनताको आक्रोश छ । एक बासिन्दाले यो दुघर्टनलाई रोक्न सकिन्थ्यो भनेर भनेका छन् ।
आगलागीको समयमा दूघर्टना स्थलमा कति जना थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन । हालैका तथ्याङ्कहरूका अनुसार, यी आठ अपार्टमेन्ट ब्लक्समा ४ हजार ६०० जना बस्थे ।
आगलागी कसरी सुरु भयो भन्ने थाहा हुन सकेको छैन । भवनहरूको मर्मत सम्भार चलिरहेको अनि भवनका बाहिरी भागमा प्रयोग गरिएका सामग्रीहरू अग्निरोधी नभएकोले त्यहीबाट आगो भड्किएको प्रहरीले बताएको छ । (नोट विभिन्न एजेन्सीको सहयोगमा तयार गरिएको हो ।)