चितवन। एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा रोड टु आईपीओ एण्ड क्रेडिट रेटिङ कार्यक्रम सम्पन्न भएको छ । गत ५ गते नेप्लिज्स् योङ इन्टरपेनर फोरम (एनवाईईएफ)को आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।
उद्यमी व्यवसायीहरूलाई सेयर निष्कासन (आईपीओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे मार्गदर्शन दिने उद्देश्यका साथै सर्वसाधारणमा वित्तीय साक्षरता अभिवृद्धि गने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । एनवाईई एफ चितवनका अध्यक्ष तथा एफ.सी.ए. निशान पौडेलले अतिथिलाई स्वागत गरेका थिए । उनले नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महत्वमाथि प्रकाश पारे ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले आईपीओका लागि रणनीतिक योजनासम्बन्धी महत्वपूण वर्कशप सञ्चालन गरेका थिए ।
कम्पनीहरूले आईपीओका लागि कसरी तयारी गर्ने, सूचीकरणका लागि उचित योजना किन आवश्यक पर्छ, नेपालको वर्तमान आईपीओ बजार अवस्था र उद्यमीहरूले प्रायः गर्ने सामान्य गल्तीहरूबारे विस्तृत जानकारी गराएका थिए ।
पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका लागि कानुनी पक्षहरूको विस्तारमा प्रकाश पारे । सार्वजनिक निष्कासनतर्फ अघि बढ्दा कम्पनीहरूले बुझ्नैपर्ने प्रमुख कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनाका उपायहरूबारे जानकारी दिएका थिए ।
यसैगरी, केयर एज रेटिङस् नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले क्रेडिट रेटिङको दृष्टिकोणबारे आफ्नो प्रस्तुती दिए । कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले क्रेडिट रेटिङमा कसरी ठूलो प्रभाव पर्छ र लगानीकर्ताको विश्वास तथा बजार धारणाबारे धारणा राखेका थिए । चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट लाभ लिएको आयोजकले जनाएको छ ।