काठमाडौं । मुग्लिन-पोखरा सडकमा दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ । मुग्लिङ-पोखरा सडक योजना (पश्चिम खण्ड)ले एक सूचना जारी गर्दै विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले सडक बन्द हुने जानकारी दिएका हो ।
आगामी ११ गतेसम्म हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण तथा आंशिक बन्द हुने भएको हो । आयोजनाका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन दुई लेनको प्रिस्ट्रेस कंक्रिट पुलमा गर्डर राख्ने तयारी भएको छ ।
सडक बन्द हुँदा यात्रुलाई पर्न जाने असुविधालाई मध्य नजर गर्दै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । जसअनुसार दुई पाङ्ग्रे तथा साना सवारी साधनलाई बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।
ठूला तथा मालबाहक सवारी साधनलाई पावर हाउसचोकदेखि भौमारा हुँदै बिरौटा निस्कने र सोही मार्ग हुँदै फर्कने वैकल्पिक रुट तोकिएको छ ।