काठमाडौं । जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज जीउ मास्ने मुद्दामा कैद भुक्तान गरिरहेकी धादिङकी ४४ वर्षीया गीता लामा र सुन भन्सार चोरी पैठारी मुद्दाका कैदी काठमाडौंका ३३ वर्षीय मंगल महर्जनलाई पक्राउ गरेको हो ।
लामालाई ललितपुर महानगर ३ धोबिघाट र महर्जनलाई काठमाडौं महानगर १७ धोबिचौरबाट पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
लामा जगनथदेवल (महिला बन्दी गृह)बाट फरार भएकी थिइन् । २२ वर्ष कैद सजाय फैसला भएकी उनी २०७६ मंसिर १९ गते कारागार चलान भएकी थिइन् ।
एक वर्ष कैद र एक करोड आठ लाख ३९ हजार सात सय ४७ रुपैयाँ ५० पैसा जरिवाना कायम भएका महर्जन गत चैतदेखि कैद भुक्तान गरिरहेको थिए । दुवै कैदी कारागार कार्यालय जगन्नाथदेवल चलान भएका छन् ।