विद्यार्थीको खाजामा भ्रष्टाचार गर्ने प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा

0 Shares

काठमाडौं । कपिलवस्तुको तौलिहवा नगरपालिका-८ स्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक विश्वम्भर रैदास र अध्यक्ष दुर्गा थारूविरुद्ध ४ लाख ४३ हजार ४३० रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्षसहित मुद्दा दायर गरेको हो।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा कपिलवस्तु नगरपालिकाले विद्यालयका लागि छात्रवृत्ति शीर्षकमा ५१ हजार ६ सय रूपैयाँ र दिवा खाजा शीर्षकमा २ लाख ४७ हजार ५० रूपैयाँ विनियोजन गरेको थियो।

पाठ्यपुस्तक शीर्षकमा १ लाख १६ हजार ७२९ विनियोजन भएको थियो। प्रधानाध्यापक रैदास र अध्यक्ष थारूको मिलेमतोमा छात्रवृत्तिको ५१ हजार ६०० सबै रकम अपचलन गरेका थिए। कुनै विद्यार्थीलाई छात्रवृत्ति दिएका थिएनन्।

दिवा खाजा २ लाख ४७ हजार ५० रूपैयाँमध्ये मात्र ९ हजार खर्च गरिएको थियो। २ लाख ३७ हजार १५० रूपैयाँ अपचलन गरिएको थियो।

पाठ्यपुस्तक शीर्षकमा विनियजन गरिएको १ लाख १६ हजार ७२९ मध्ये मात्र १ हजार ७६४ रूपैयाँको पाठ्यपुस्तक खरिद गरी ३ जना विद्यार्थीलाई वितरण गरिएको थियो। बाँकी रु १ लाख १४ हजार ९६५ रकम अपचलन गरिएको थियो।

यसका अतिरिक्त सामाजिक सुरक्षा करबापत ३९ हजार ७१५ रूपैयाँ पनि सम्बन्धित खातामा जम्मा नगरिएको आयोगले जनाएको छ।

उनीहरूले विद्यार्थीलाई दिनुपर्ने सुविधा नदिई नेपाल सरकार र सार्वजनिक संस्था विश्वमैत्री आधारभूत विद्यालयलाई हानिनोक्सानी पुर्‍याएको र आफूलाई गैरकानुनी फाइदा लिएको आयोगको ठहर छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा पहिलो संशोधन, २०५९ को दफा ३ को उपदफा (१) को (ग) बमोजिम बिगो बमोजिम कैद र जरिवाना माग गरेको हो।

सम्बन्धित समाचार