काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।
अहिले बैंकहरुमा तरलता थुप्रिएको कारण केन्द्रिय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सिमाभन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ।
राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सिमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले बैशाख १३ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।
सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथामिकतामा पर्ने छ।